नियम २०घ
मेडिकल कलेज सञ्चालन गर्ने स्वीकृति खारेजीको लागि सिफारिस

(१) काउन्सिलले मान्यता प्रदान गरेका मेडिकल कलेजले काउन्सिलले तोकेको अवधिभित्र मापदण्ड तथा पूर्वाधार पूरा गर्न नसकेमा वा त्यस्तो मेडिकल कलेजको परीक्षण वा पूर्ण मान्यता खारेज भएमा काउन्सिलले नेपाल सरकार समक्ष त्यस्तो मेडिकल कलेज सञ्चालन गर्न नेपाल सरकारले दिएको स्वीकृति खारेजीको लागि सिफारिस गर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मेडिकल कलेजको स्वीकृति खारेजीको लागि सिफारिस गर्नु पूर्व काउन्सिलले सम्बन्धित मेडिकल कलेजलाई उचित म्याद दिई निरीक्षण टोलीले पेश गरेको निरीक्षण प्रतिवेदन बमोजिम नेपाल सरकारबाट त्यस्तो मेडिकल कलेज सञ्चालन गर्न प्राप्त गरेको स्वीकृति खारेजीको लागि नेपाल सरकार समक्ष किन सिफारिस गर्नु नपर्ने हो भन्ने बेहोराको स्पष्टीकरण माग गर्नेछ ।
(३) उपनियम (२) बमोजिम काउन्सिलले माग गरे बमोजिम स्पष्टीकरण पेश हुन नआएमा वा पेश भएको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा निरीक्षण प्रतिवेदनको आधारमा काउन्सिलले त्यस्तो मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त छैन भनी नेपाल सरकार समक्ष स्वीकृति खारेजीको लागि आफ्नो निर्णय सहित सिफारिस पेश गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम पेश गरेको सिफारिस प्राप्त भएपछि नेपाल सरकारले आवश्यक देखेमा उचित म्याद दिई सम्बन्धित मेडिकल कलेजसँग पुन स्पष्टीकरण माग गर्न सक्नेछ र स्पष्टीकरण प्राप्त भएमा सो उपर विचार गरी र अरु कुनै थप जाँचबुझ गर्नु पर्ने भए
आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो मेडिकल कलेजको सञ्चालनको स्वीकृति खारेजी गर्न सक्नेछ ।